दफा १६३
घा खर्च, कृया खर्च र क्षतीपूर्ति भराई दिने
(१) सवारी दुर्घटनाबाट कुनै पक्षलाई कुनै पनि किसिमको हानि नोक्सानी पुग्न गएमा पीडित पक्षलाई देहाय बमोजिम घा खर्च र क्षतीपूर्तिको रकम चालक, सवारी धनी वा व्यवस्थापकबाट भराई दिनु पर्छः–
(क) ज्यान मरेकोमा सो मर्ने व्यक्तिको हकवालालाई कृया खर्च बापत पचास हजार रुपैयाँसम्म र क्षतीपूर्ति बापत तेस्रो पक्षको बीमा नगराएको भए यस ऐन बमोजिम तेश्रो पक्षले पाउने दुर्घटना बीमाको रकम ।
(ख) अङ्गभङ्ग भएकोमा निको भइकन पनि काम नलाग्ने भए सो को क्षतीपूर्ति बापत तेस्रो पक्षको बीमा नगराएको भए यस ऐन बमोजिम तेस्रो पक्षले पाउने अङ्गभङ्ग बापतको दुर्घटना बीमाको रकम र त्यस्तो अङ्ग काम लाग्ने भए घा खर्च बापत पच्चीस हजार देखि पचास हजार रुपैयाँसम्म ।
(२) सवारी दुर्घटनाबाट कुनै व्यक्तिको ज्यान मरेको भए सो मर्ने व्यक्तिको हकवालालाई कृयाखर्च र क्षतिपूर्ति रकम र अङ्गभङ्ग भएको भए सो हुने व्यक्तिलाई घा खर्चको रकम उपदफा (१) बमोजिम प्रमुख जिल्ला अधिकारीले तत्कालै सवारी चालक, सवारी धनी वा व्यवस्थापकबाट भराई दिनु पर्छ ।
(३) उपदफा (१) मा लेखिएदेखि बाहेक चालकले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरेको आदेश बर्खिलाप हुने गरी सवारी चलाई दुर्घटना हुन गई कुनै व्यक्तिलाई चोटपटक लागेमा त्यस्तो व्यक्तिलाई तत्कालै औषधि खर्च बापत प्रमुख जिल्ला अधिकारीले चोटपटकको स्थिति विचार गरी चालक, सवारी धनी वा व्यवस्थापकबाट पच्चीस हजार रुपैयाँ दिलाई दिनु पर्छ । त्यस्तो चोट पटक लाग्ने व्यक्तिले पछि बढी रकम क्षतिपूर्ति पाउने भएमा त्यसरी औषधि खर्च बापत दिएको रकम कट्टी गरी बाँकी पाउने रकम मात्र दिइनेछ ।
(४) यस दफामा माथि जुनसुकै कुरा लेखिएको भए तापनि यस दफा बमोजिम भराइने घा खर्च, कृया खर्च र क्षतीपूर्तिको कूल रकमको पाँच प्रतिशत भन्दा बढी चालकबाट भराइने छैन ।
(५) उपदफा (१) वा (२) बमोजिम बुझाउनु पर्ने कृया खर्च, घा खर्च र क्षतिपूर्ति रकम चालकले बुझाउनु पर्नेमा निजले बुझाउन नसकी प्रचलित कानून बमोजिम निजको जायजातबाट पनि असूल उपर हुन सकेन भने सो उपर नभए जति रुपैयाँ निजबाट असूल उपर भएको जरिवाना मध्येबाट भराई दिनु पर्छ ।
(६) यस दफामा लेखिए बमोजिम बीमा कम्पनीले व्यहोर्नु पर्ने क्षतीपूर्ति बापतको बीमा रकम यथाशीघ्र भराई दिनु पर्नेछ ।